
अत्तरियाः कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा शनिबार ३०० भन्दा बढी उपभोक्ताको सक्रिय सहभागितामा वृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। अछाम कालिका सेवा समिति, भीमदत्त सामुदायिक वन तथा अत्तरिया अटो व्यवसायीहरूको संयुक्त पहलमा आयोजित अभियानले विश्वविद्यालय परिसरलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउने लक्ष्य लिएको हो।





विश्वविद्यालय प्रशासनले परिसर सरसफाइका लागि सार्वजनिक आह्वान गरेपछि विभिन्न सामाजिक संस्था र स्थानीय समुदायले आवश्यक जनशक्ति तथा उपकरणसहित अभियानमा ऐक्यबद्धता जनाएका हुन्। अभियानअन्तर्गत झाडी हटाउने, घाँस काट्ने, मैदान सफा गर्ने तथा जमिन सम्याउनेलगायतका काम गरिएको सहभागीहरूले बताएका छन्।
पछिल्ला केही दिनदेखि विश्वविद्यालय परिसरमा निरन्तर सरसफाइ भइरहेको र यसले अध्ययन, स्वास्थ्य सेवा तथा समग्र वातावरणलाई थप सुरक्षित, स्वच्छ र आकर्षक बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
अभियानमा सहभागीहरूले सार्वजनिक स्थल, शैक्षिक संस्था र सरकारी कार्यालय परिसरलाई सफा र व्यवस्थित राख्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। स्थानीय समुदाय, सामाजिक संस्था र विश्वविद्यालयबीचको सहकार्यले सामुदायिक उत्तरदायित्व, वातावरण संरक्षण र स्वच्छताको सशक्त सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।




































