
अत्तरियाः २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ। शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले स्वास्थ्य परीक्षण गरेपछि तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरेका थिए।

चिकित्सकका अनुसार डा. केसीको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मापन भएको थियो। सुगरको मात्रा अत्यन्त न्यून भएपछि स्वास्थ्यमा थप जटिलता देखिएको जनाइएको छ। त्यसपछि उनलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो।
डा. केसी बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका छन्। उनका सहयोगी अमृत जैशीका अनुसार स्वास्थ्य कमजोर बन्दै जाँदा मांसपेशी बाउडिने, बोल्न कठिन हुने, हिँडडुल गर्न समस्या हुने तथा अघिल्लो खुट्टाको शल्यक्रियाका कारण शौचालयसम्म जान पनि असहज भइरहेको छ।


यसबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार डा. केसीका मागप्रति सकारात्मक रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले डा. केसीका सहयोगी अमृत जैशीसँग छलफल गरेपछि राति डा. केसीसँग पनि टेलिफोन संवाद गरेका थिए।
संवादका क्रममा डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको पठनपाठन सुरु तथा उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने माग दोहोर्याएका थिए। मन्त्री पोखरेलले ती मागबारे वार्ता गर्न सरकारी टोली गठन गर्ने र आवश्यक परे स्वयं धनगढी आउने प्रतिबद्धता व्यक्त गरेको डा. केसी पक्षले जनाएको छ।
































