
अत्तरियाः कैलालीको त्रिनगर भन्सार नाकामा सशस्त्र प्रहरी र भन्सार कार्यालयले निगरानी तथा जाँचमा कडाइ गरेपछि भारतीय बजार बनगाउँ जाने नेपालीको संख्या उल्लेख्य रूपमा घटेको छ। व्यक्तिगत प्रयोजनका लागि भारतबाट ५०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गरिएसँगै सीमामा जाँच थप कडा बनाइएको हो।

दैनिक उपभोगका सामग्री खरिद गर्न बनगाउँ जाने सर्वसाधारणलाई अहिले ५०० रुपैयाँभन्दा बढी मूल्यका सामान नल्याउन सशस्त्र प्रहरीले सचेत गराउँदै आएको छ। सोभन्दा बढी मूल्यका सामान ल्याएमा अनिवार्य रूपमा भन्सार कर तिर्नुपर्ने भएकाले धेरै सर्वसाधारण सामान नल्याई फर्किन बाध्य भएका छन्।


यसअघि करिब तीन महिनाअघि नेपाली बजार संरक्षण गर्ने उद्देश्यले १०० रुपैयाँभन्दा बढीका सामानमा पनि कर लगाउने व्यवस्था गरिएको थियो। तर व्यापक जनगुनासोपछि उक्त निर्णय संशोधन गर्दै ५०० रुपैयाँसम्मका सामान करबिना ल्याउन दिने व्यवस्था लागू गरिएको थियो। यद्यपि नयाँ नियमबारे पर्याप्त जानकारी नहुँदा धेरै नागरिक सीमामा पुगेपछि मात्र जानकारी पाउने अवस्था रहेको छ।
सुरक्षा निकायका अनुसार कडाइपछि अवैध रूपमा सामान भित्र्याउने गतिविधिमा कमी आएको छ र नेपाली बजार संरक्षणमा समेत सकारात्मक प्रभाव देखिएको छ। स्थानीयले भने खुद्रा सामान आयातबारे स्पष्ट र व्यवहारिक नीति लागू गर्न सरकारसँग माग गरेका छन्। भन्सारमा कडाइ सुरु भएपछि पहिले दैनिक सयौं नेपाली पुग्ने बनगाउँ बजारमा अहिले फाट्टफुट्ट ग्राहक मात्र देखिन थालेका छन्।
































