
नयाँ दिल्लीः भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। चिकित्सा शिक्षाको प्रवेश परीक्षा (NEET) को प्रश्नपत्र चुहावट प्रकरणपछि उनीमाथि नैतिक जिम्मेवारी लिएर पद छाड्नुपर्ने दबाब बढ्दै गएको थियो। प्रारम्भमा सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामाको माग अस्वीकार गरे पनि देशव्यापी विद्यार्थी आन्दोलन तीव्र बन्दै गएपछि अन्ततः प्रधानले पद त्याग गरेका हुन्।

आन्दोलनको नेतृत्व ‘क्रोध जनता पार्टी’ (सीजेपी) नामक अभियानले गरेको बताइएको छ। युवा अभियन्ता अभिजित दीपकेको नेतृत्वमा सुरु भएको अभियान सामाजिक सञ्जालबाट विस्तार हुँदै सडक आन्दोलनमा परिणत भएको थियो। शैक्षिक सुधार, निष्पक्ष परीक्षा प्रणाली, नातावादको अन्त्य तथा बेरोजगारीका विषयलाई आन्दोलनको मुख्य एजेन्डा बनाइएको थियो।
NEET प्रश्नपत्र चुहावटका कारण लाखौँ विद्यार्थी प्रभावित भएको र पुनः परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएपछि आन्दोलन थप चर्किएको थियो। आन्दोलनकारीहरूले प्रभावित परिवारलाई क्षतिपूर्ति, परीक्षा प्रणालीमा सुधार तथा दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।


दिल्लीको जन्तर–मन्तरसहित विभिन्न सहरमा निरन्तर प्रदर्शन भएका थिए। आन्दोलनमा पर्यावरण अभियन्ता सोनम वाङचुकले समेत समर्थन जनाउँदै भोक हड्ताल गरेका थिए। विपक्षी दलहरूले पनि आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।
आन्दोलनको दबाबबीच सरकारले केही माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएको र त्यसलगत्तै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको बताइएको छ। यस घटनालाई भारतको शिक्षा प्रणालीमा सुधारको मागसँग जोडिएको महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।
































