‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनामा अवरोध पुर्‍याएको भन्दै संघर्ष समितिको आपत्ति (प्रेस विज्ञप्तिसहित)

Image
Nisarga Hospital
अत्तरियाः  सुदूरपश्चिममा चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि प्रस्तावित ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला विभिन्न पक्षबाट अवरोध सिर्जना गर्न खोजिएको भन्दै संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ।
CP Hospital Dhangadhi
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति’ले एक प्रेस विज्ञप्ति जारी गर्दै सुदूरपश्चिमबासीको लामो संघर्ष, त्याग र समर्पणको फलस्वरूप प्राप्त हुन लागेको यो ऐतिहासिक उपलब्धिलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।
विशेषगरी डा. गोविन्द केसीले साउन ७ गते धनगढीमा पत्रकार सम्मेलन र सत्याग्रहको पूर्वसन्ध्यामा व्यक्त गरेका अभिव्यक्तिप्रति समितिले आपत्ति जनाएको छ। डा. केसीले “हतारमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गर्नुभन्दा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) वा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउनु उपयुक्त हुन्छ” भनी दिएको अभिव्यक्ति सुदूरपश्चिमबासीको भावना, त्याग र लामो संघर्षप्रति असम्मान भएको संघर्ष समितिको ठहर छ। डा. केसीबाट यसअघि पनि यस विश्वविद्यालयको स्थापना र सञ्चालनको विषयमा पटक–पटक नकारात्मक अभिव्यक्ति आउने गरेको विज्ञप्तिमा उल्लेख छ।
nawajiwan
त्यस्तै, उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति चिकित्सा शिक्षा ऐन, २०७५ को प्रतिकूल भएको भनी लगाइएका आरोपहरूले विश्वविद्यालय सञ्चालनको सन्दर्भमा थप अन्योल र भ्रम सिर्जना गरेको संघर्ष समितिले जनाएको छ।
समितिका संयोजक लोकराज पाण्डे ‘आगो’, सह–संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्म सिंह कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उक्त नियुक्तिहरू प्रचलित कानुनबमोजिम भएका हुन् वा होइनन् भन्ने विषयमा स्पष्ट, आधिकारिक र तथ्यपरक जानकारी सार्वजनिक गरियोस्। साथै, विश्वविद्यालय सञ्चालनमा देखिएको दुविधा अन्त्य गरी सत्यतथ्य सार्वजनिक गर्दै आम सुदूरपश्चिमबासी जनतामा फैलिएको भ्रम तथा अन्योलताको तत्काल निराकरण गरियोस्।”
Attariya Hospital
पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रसारित तथ्यहीन र अपुष्ट सामग्रीहरूले विश्वविद्यालय सञ्चालनको वातावरणमा प्रतिकूल प्रभाव पारिरहेको भन्दै समितिले सबै सरोकारवालाहरूलाई सत्यतथ्यमा आधारित, जिम्मेवार र सन्तुलित समाचार मात्र सम्प्रेषण गर्न तथा भ्रामक सामग्री प्रकाशन वा प्रसारण नगर्न हार्दिक अनुरोध समेत गरेको छ।