
धनगढी: कैलालीको धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग सरकारी टोलीले आइतबार औपचारिक वार्ता सुरु गरेको छ। डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने प्रयासलाई तीव्र बनाएको हो।

वार्तामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल तथा प्रतिनिधिसभा सदस्य पुकार बम सहभागी छन्। यसअघि शनिबार पनि शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा सचिव पौडेल धनगढी पुगेका थिए।

शिक्षामन्त्री पोखरेलले स्वयं पनि डा. केसीसँग टेलिफोनमार्फत निरन्तर संवाद गरिरहेको उनको सचिवालयले जनाएको छ। सरकारले वार्ताबाट निकास निकाल्ने प्रयास जारी राखेको छ।

बिहीबारदेखि अनशन सुरु गरेका डा. केसीले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्ति खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।































