
कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर इन्टरएक्सन टिम (BIT) औपचारिक रूपमा परिचालनमा आएको छ। सशस्त्र प्रहरी बल, नेपाल बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति दिग विजय सुबेदीले विशेष कार्यक्रमका बीच BIT को शुभारम्भ गर्नुभएको हो।

सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमापार हुने गतिविधिमाथि कडा निगरानी राख्ने तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले BIT परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

शुभारम्भ कार्यक्रममा सुरक्षा निकायका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले BIT परिचालनले सीमा सुरक्षा, सूचना आदानप्रदान र सीमाक्षेत्रको व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, यसले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सुरक्षा चुनौती न्यूनीकरण तथा नागरिकसँग सुरक्षा निकायको सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
































