
साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको पूजा–आराधनाका लागि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनका लागि श्रद्धालुको आगमन बढे पनि सहज र व्यवस्थित रूपमा दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ। लाखौँ भक्तजनलाई सुरक्षित, सहज र मर्यादित वातावरणमा दर्शन गराउन आवश्यक तयारी पूरा गरिएको छ। दर्शनार्थीका लागि प्राथमिक उपचार, खानेपानी तथा अन्य अत्यावश्यक सेवाको व्यवस्था गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका प्रमुख शिवालयमा पनि भक्तजनको घुइँचो लागेको छ। देशभरका शिव मन्दिरमा पनि श्रद्धालुले पूजा, आराधना र दर्शन गरिरहेका छन्।

धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने भएकाले यी दुवै मन्दिरमा दर्शन गर्नुलाई विशेष पुण्यदायी मान्ने परम्परा रहेको छ।
































