
कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनालगत्तै आफन्तले उनको उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने तयारी गरिएको भए पनि आफन्तले काठमाडौं लैजाने निर्णय गरेका थिए। तर सोमबार बिहान करिब ७ बजे धादिङ पुगेका बेला बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए।

मृतकको शव कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
































