२३औँ वार्षिकोत्सवमा एक्सपर्ट एजुकेसनको सामाजिक योगदान: राष्ट्रिय आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण, शिक्षामा नवीन अभ्यासको प्रशंसा

Image
Nisarga Hospital

धनगढी: एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस, धनगढीले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आधारभूत विद्यालय, तारानगरका ५९ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई झोला, स्टेशनरीसहितका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका शाखा प्रमुख नीलम चौधरी प्रमुख अतिथि र पूर्वअध्यक्ष सुरेशप्रसाद जोशी विशेष अतिथि रहेका थिए।

CP Hospital Dhangadhi

कार्यक्रममा विद्यालयले एक्सपर्ट एजुकेसनलाई प्रशंसापत्रद्वारा सम्मान गर्दै सामाजिक उत्तरदायित्वप्रति कृतज्ञता व्यक्त गरेको छ। साथै, विद्यालयको ‘किताबमुक्त शुक्रबार, जीवनोपयोगी शिक्षाको आधार’ अभियानलाई निरन्तर प्रचार–प्रसारमा सहयोग गरेको भन्दै बाबा टिभी नेटवर्कका भीमबहादुर चौधरीलाई पनि सम्मान गरिएको थियो।

विद्यालयले पछिल्लो तीन महिनामा शिक्षाको गुणस्तर सुधारका लागि उल्लेखनीय कार्यहरू गरेको जनाएको छ। विद्यालय परिसरको सरसफाइ, कक्षाकोठा रङरोगन, प्रोजेक्टर जडान, निःशुल्क परिचयपत्र वितरण, कार्यालय व्यवस्थापन, वृक्षारोपण, वर्षायाममा सहज आवतजावतका लागि ग्राभेल बिछ्याउनेदेखि लक्ष्मी सनराइज बैंकको सहयोगमा विद्यार्थीलाई ट्र्याकसुट तथा भेस्ट वितरणसम्मका काम सम्पन्न भएका छन्।

nawajiwan
Attariya Hospital

शैक्षिक सुधारअन्तर्गत ‘डेली चेकलिस्ट’, उपचारात्मक शिक्षण (IEP), हस्तलेखन सुधार अभियान, ‘बुक फ्री फ्राइडे’, ट्राफिक सचेतना, निःशुल्क स्वास्थ्य परीक्षण, अतिरिक्त क्रियाकलाप, म्युजिक पीटी, सदनगत प्रतियोगिता तथा नियमित मूल्याङ्कन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर साउदले यस्ता सहयोगले विद्यार्थीको पठनपाठनमा थप उत्साह र गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे।