
बैतडीमा आफ्नै गोरुमाथि निर्ममतापूर्वक कुटपिट गरी भिरबाट फाल्ने एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने नाबालक पाटन नगरपालिका–१ लदैलीका रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

स्थानीय जंगलमा गोरुलाई लौरोले निर्घात कुटपिट गर्दा खुट्टा भाँचिएको र त्यसपछि भिरबाट फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। भिडियोमा नाबालकले गोरुलाई कुट्दै भिरबाट खसाल्ने क्रममा ‘जय हनुमान’ लगायतका शब्द उच्चारण गरेको पनि सुनिन्छ।

घटनापछि इलाका प्रहरी कार्यालय पाटनले गोरुलाई कुटपिट गर्ने नाबालक र भिडियो खिच्ने अर्का व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। सोधपुछपछि भिडियो बनाउने व्यक्तिलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार गोरुमाथि क्रूर व्यवहार गर्ने नाबालकमाथि पशुपन्छीसम्बन्धी प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उक्त घटनाले सामाजिक सञ्जालमा तीव्र आलोचना समेत भएको छ।































