
जापानको दक्षिणी कुमामोतो प्रान्तमा आएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या १३ पुगेको पुष्टि भएको छ। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सार्वजनिक प्रसारक एनएचकेलाई उद्धृत गर्दै मृतकको संख्या पुष्टि गरेकी हुन्।

प्रधानमन्त्री ताकाइचीका अनुसार हालसम्म पुष्टि भएका सबै मृत्युमध्ये केही प्रत्यक्ष रूपमा भूकम्प वा त्यसपछि आएका परकम्पका कारण भएका हुन् वा होइनन् भन्ने विषयमा अझै अनुसन्धान जारी छ। सरकारले घटनाको विस्तृत विवरण संकलन गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको उनले जानकारी दिइन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ताकाइचीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्।

उनले उद्धार टोलीहरू निरन्तर खटिएको उल्लेख गर्दै धेरै मानिस अझै पनि सहयोगको प्रतीक्षामा रहेको र समय अत्यन्त महत्वपूर्ण भएकाले उद्धार अभियानलाई तीव्र बनाइएको जानकारी दिइन्। प्रभावित क्षेत्रमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिएका छन् भने भूकम्पपछिका सम्भावित परकम्पका कारण स्थानीय बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।































