
अत्तरिया: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कैलालीमा अर्को राजनीतिक झट्का लागेको छ। राप्रपा सांसद खेमा देवी विष्टका स्वकीय सचिव तथा सांसद ज्ञानेन्द्र शाहीको कोर एरियामा सक्रिय युवा नेता, राप्रपा कैलाली निर्वाचन क्षेत्र नं. ४ (ख) का सचिव विराज विष्टले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै विष्टले बदलिँदो राजनीतिक परिवेश, आफ्ना वैचारिक प्राथमिकता तथा समाजसेवाको नयाँ यात्रालाई थप प्रभावकारी बनाउने उद्देश्यले पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। उनले यो निर्णय व्यक्तिगत तथा राजनीतिक दुवै कारणले प्रेरित भएको उल्लेख गरेका छन्।
विष्टले राप्रपामा रहँदा राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको हितका लागि इमानदारीपूर्वक काम गरेको स्मरण गर्दै पार्टी नेतृत्व, सहकर्मी, शुभेच्छुक तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्।


उनले राजनीतिक दलको सदस्यता त्यागे पनि राष्ट्र, समाज र जनताप्रतिको आफ्नो दायित्व नटुट्ने स्पष्ट पार्दै अब शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा स्थानीय समस्याको दीर्घकालीन समाधानका लागि अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
“देशभन्दा ठूलो कुनै दल हुँदैन, जनताभन्दा ठूलो कुनै शक्ति हुँदैन,” भन्दै विष्टले सत्य, सुशासन, निष्पक्षता र समाज रूपान्तरणको अभियानमा आफ्नो यात्रा निरन्तर रहने बताएका छन्।
विष्टको राजीनामालाई कैलालीको राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।































