पाँच वर्षदेखि पुल अलपत्र पार्ने ठेकेदार चेक अनादर मुद्दामा पक्राउ

Image
Nisarga Hospital

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका–८ स्थित बाउली खोलामा निर्माणाधीन पुलको ठेक्का लिएका ठेकेदार भोजराज बुढा चेक अनादर मुद्दामा पक्राउ परेका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–५ निवासी ४० वर्षीय बुढालाई जिल्ला अदालत अछामको पक्राउ आदेशका आधारमा बिहीबार बाजुराबाट पक्राउ गरिएको हो।

CP Hospital Dhangadhi

जिल्ला अदालत अछामले चेक अनादर मुद्दामा बुढाविरुद्ध २० लाख ७० हजार रुपैयाँ विगो कायम गरेको थियो। उक्त रकम तिर्न नसकेपछि अदालतले विगोबापत दुई वर्ष कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयनबाट फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले बडीमालिका–८ बाउलीस्थित डेरा कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

हाल बुढालाई जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan
Attariya Hospital

पक्राउ परेका बुढा बाउली खोलामा निर्माणाधीन पुलको ठेकेदारसमेत हुन्। सडक डिभिजन कार्यालयसँग भएको सम्झौताअनुसार टीडीआर–जुगल–कौशिक जेभीमार्फत उनले पुल निर्माणको जिम्मा लिएका थिए। २०७८ असार १५ गते सम्झौता भएको उक्त पुल १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।

समयमै काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिए पनि पुल अझै अलपत्र अवस्थामा छ। यसले स्थानीयवासीलाई आवतजावतमा सास्ती खेप्न बाध्य बनाएको छ भने विकास निर्माणमा ठेकेदारको लापरबाहीबारे पुनः प्रश्न उठाएको छ।