
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी तीव्र भइरहेका बेला नेकपाभित्र आन्तरिक शक्ति संघर्ष फेरि सतहमा आएको छ। एमालेसँग भएको सहमतिअनुसार नेकपाले सरकारको नेतृत्व गर्ने तयारी गरेको छ भने संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित देखिएका छन्।

यद्यपि, स्रोतका अनुसार साविक माओवादी केन्द्रका नेता मानबहादुर धामी पक्षले भट्टलाई दल नेताबाट हटाएर नेतृत्व परिवर्तन गर्ने प्रयास गरेको थियो। तर साविक नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एकीकृत समाजवादीका सांसदहरूको समर्थन नपाएपछि उक्त प्रयास असफल भएको बताइएको छ।

दल नेता परिवर्तनको प्रयास रोकिएसँगै अहिले मन्त्री पदको भागबण्डा मुख्य विवादको विषय बनेको छ। साविक नाउपाले दुई मन्त्री र एक राज्यमन्त्रीको दाबी गरेको छ भने साविक एकीकृत समाजवादीले पनि सरकारमा सम्मानजनक सहभागिता मागिरहेको छ। यसले सरकार गठनसँगै मन्त्रालय बाँडफाँड पेचिलो बन्ने संकेत देखिएको छ।

यद्यपि, नेकपाका उपनेता प्रकाश रावल ले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन्। उनका अनुसार मुख्यमन्त्री कमलबहादुर शाह ले मार्ग प्रशस्त गरेपछि केन्द्रीय सहमतिअनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ।































