
कैलाली प्रहरीले धनगढीमा ज्यान गुमाएकी २३ वर्षीया पुजा धानुुकको घटनाको अनुसन्धानमा सघाउन अपिल गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालयले धानुकको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न अपिल गर्दै विरोधका नाममा शान्ति–सुरक्षा तथा आवागमनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न सर्वसाधारण तथा मृतकका आफन्तसँग आग्रह गरेको हो ।
जिप्रकाका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष अनुसन्धान भइरहेको जनाउदै अनुसन्धानलाई प्रभाव पार्ने वा सार्वजनिक जीवन प्रभावित हुने गतिविधिबाट टाढा रहन सबै पक्षलाई अनुरोध गरेका हुन् ।

धनगढी उपमहानगरपालिका–४ को न्यू रोड टोल बस्ने धानुुक आइतबार मृत्यु भएको थियो । धानुकका परिवारले कोठामा झुुन्डिएको अवस्थामा फेला पारेपछि बाच्ने आशले नवजीवन अस्पताल पुगाएको बताएका छन् ।

तर अस्पतालले भने मृत घोषणा गरेको थियो । कैलाली प्रहरीले घटनाको अनुसन्धानका लागि माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा मृतक युवतीका श्रीमान भरत धामीसहित उनका परिवारका ५ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि मृतकका आफन्तले विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका बेला प्रहरीले अनुसन्धानमा सहयोग गर्न, कानुन हातमा नलिन र शान्ति–सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैसँग अपिल गरेको हो । पुजाको न्यायका लागि धनगढीमा प्रर्दशन भइरहेको छ ।































