
लगातारको वर्षापछि खसेको ठूलो पहिरोका कारण बैतडीको सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडकखण्ड एक सातादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। दोगडाकेदार गाउँपालिका–२ को डाँडाइजर क्षेत्रमा पहिरो खस्दा सडक सम्पर्क विच्छेद भएको स्थानीय सुरेश बिष्टले जानकारी दिएका छन्।
उनका अनुसार पहिरोमाथि ठूला चट्टान अड्किएकाले पैदल यात्रा गर्नसमेत जोखिमपूर्ण अवस्था सिर्जना भएको छ। सडक बन्द हुँदा स्थानीय बासिन्दाको दैनिक आवतजावत, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित भएको छ। साथै, आकस्मिक बिरामीलाई अस्पताल पुर्याउन समेत कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
पहिरोका कारण पुर्चौंडीको तल्लोदेहीसम्मको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। सडकमा थुप्रिएको पहिरो हालसम्म नहटाइएकाले समस्या झन् जटिल बन्दै गएको स्थानीयको गुनासो छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन माग गरेका छन्। वर्षायाममा सडक लामो समय बन्द हुँदा जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले शीघ्र समाधानको आवश्यकता औंल्याएका छन्।































