
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–९, सेहरीस्थित भित्री सडक खण्डबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार अपराह्न करिब ४:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८, मजगाउँ निवासी ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दीपक चौधरी रहेका छन्। शरीर खानतलासीका क्रममा अशोकको साथबाट १ ग्राम ७४० मिलिग्राम र दीपकको साथबाट ८२० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।


यस्तै, दीपकको साथबाट नगद ३५ हजार ३०० रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ। दुवैलाई साँझ करिब ६:२० बजे जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय मालाखेतीबाट करिब १४ किलोमिटर पूर्व–दक्षिणतर्फ पर्ने क्षेत्र रहेको जनाइएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराका अनुसार लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै यस्ता गतिविधिविरुद्ध निगरानी बढाइएको छ।































