
पाकिस्तानको ब्रोड पिक हिमालमा शक्तिशाली हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को शव उद्धार टोलीले फेला पारेको छ। अल्पाइन क्लब अफ पाकिस्तानले आइतबार करिब ५,७०० मिटर उचाइमा उनको शव फेला परेको पुष्टि गरेको हो।

क्लबका अनुसार खराब मौसमका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बने पनि उच्च हिमाली क्षेत्रमा परिचालित टोलीले निर्मल पुर्जासहित चार आरोहीको शव संकलन गर्न सफल भएको छ। अल्पाइन क्लबका महासचिव एयाज सिग्रीले उद्धार अभियान कठिन परिस्थितिमा सम्पन्न भएको जानकारी दिएका छन्।
गत बिहीबार आएको शक्तिशाली हिमपहिरोपछि ४३ वर्षीय पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीसँग सम्पर्क विच्छेद भएको थियो। पुर्जाको आरोहण कम्पनीले शनिबार नै टोलीका सबै सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो।


यसअघि फेला परेका अन्य तीन शवमध्ये ओमानकी एक महिला, एक नेपाली पुरुष र एक अमेरिकी महिलाको शव हेलिकप्टरमार्फत स्कार्दु पुर्याइएको जनाइएको छ। टोलीमा चिनियाँ नागरिकसहित अन्य नेपाली आरोही पनि सहभागी थिए।
निर्मल पुर्जाको निधनले नेपालसहित विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ। विभिन्न देशका नेता, पर्वतारोही तथा शुभेच्छुकहरूले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् भने परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।






























