
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। घटनापछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको छ भने अवस्था संवेदनशील बनेको छ।

स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाक र हतियारसहित करिब ६० जना भारतीय एसएसबी सुस्ता गाउँपालिका–५ को थारु टोल क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरूले निर्माणाधीन १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएको स्थानीयको दाबी छ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय सुरक्षाकर्मी दुई देशको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेका थिए। स्थानीयले विरोध जनाउँदै रोक्ने प्रयास गरे पनि हतियारसहित आएका सुरक्षाकर्मीका कारण सफल हुन नसकेको उनले बताए।


स्थानीयका अनुसार यसअघि पनि असार महिनामा भारतीय पक्षले बाँध निर्माण रोक्न दबाब दिएको थियो। सुस्ता क्षेत्रमा सीमा स्तम्भको अभाव, नारायणी नदीले बारम्बार धार परिवर्तन गर्नु तथा भारतीय पक्षको हस्तक्षेपका कारण सीमा विवाद पटक–पटक दोहोरिने गरेको स्थानीयको भनाइ छ।
घटनापछि कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) घटनास्थलमा परिचालन गरिएको छ। स्थानीयले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा घटनाबारे कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारसँग माग गरेका छन्।






























