दुर्गा प्रसाईँको पुनः आन्दोलन घोषणा, हिन्दु राष्ट्र र राजसंस्था पुनर्बहालीलाई मुख्य एजेन्डा

Image
Nisarga Hospital

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकको अभिव्यक्ति र विचार स्वतन्त्रता संकुचित भएको दाबी गर्दै आन्दोलनको विकल्प नरहेको बताए।

CP Hospital Dhangadhi

यसअघि बैंक, वित्तीय संस्था तथा लघुवित्तविरुद्ध आन्दोलन गर्दै आएका प्रसाईँले यसपटक भने वर्तमान राजनीतिक व्यवस्था परिवर्तनलाई अभियानको मुख्य उद्देश्य बनाएको बताएका छन्। उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको विचार स्मरण गर्दै नेपाल सबै जातजाति, भाषा र समुदायको साझा फूलबारी भएको उल्लेख गरे।

प्रसाईँले सरकार र सत्तापक्षले जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाउँदै आफूहरूको आन्दोलन कुनै धर्म, समुदाय वा सम्प्रदायविरुद्ध नभई व्यवस्था परिवर्तनका लागि केन्द्रित रहेको स्पष्ट पारे।

nawajiwan
Attariya Hospital

उनले संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन गर्न उच्चस्तरीय कार्यदल गठन गर्नुपर्ने माग राख्दै त्यसो नभए वर्तमान व्यवस्था परिवर्तनका लागि आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिए।

प्रसाईँले किरात र बौद्ध धर्मसहित वैदिक सनातन हिन्दु अधिराज्य स्थापना तथा राजसंस्थाको सम्मानजनक पुनर्बहाली आफ्नो अभियानको प्रमुख एजेन्डा रहेको दोहोर्‍याए। साथै, देशको आर्थिक तथा राजनीतिक अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै राष्ट्रको हितका लागि आन्दोलनमा सहभागी हुन बुद्धिजीवी, पत्रकार, नागरिक समाज र सर्वसाधारणलाई आह्वान गरे।