
दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। सरकारी मौसम निकायका अनुसार दक्षिण–पूर्वी शहर याङसानमा आइतबार स्थानीय समयअनुसार दिउँसो १:२६ बजे तापक्रम ४२.५ डिग्री सेल्सियस मापन गरिएको, जुन देशमा मौसम अभिलेख राख्न थालेयताकै सबैभन्दा उच्च तापक्रम हो।

समाचार संस्था एएफपीका अनुसार याङसान अहिले जारी तातो हावाको लहरको केन्द्र बनेको छ। त्यहाँ लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। दक्षिण कोरियाका अधिकांश क्षेत्रमा अत्यधिक गर्मीको चेतावनी जारी गरिएको छ भने धेरै सहरमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

कोरिया मौसम विज्ञान प्रशासन (केएमए) का तथ्याङ्कअनुसार सन् १९७० को दशकमा वार्षिक औसत ८ दिन रहने अत्यधिक गर्मीको लहर पछिल्ला पाँच वर्षमा बढेर औसत १९ दिन पुगेको छ।

वैज्ञानिकहरूले मानवीय गतिविधिबाट हुने जलवायु परिवर्तनका कारण तातो हावाको लहर, अत्यधिक तापक्रम र अन्य चरम मौसमी घटना झन् बारम्बार र तीव्र बन्दै गएको चेतावनी दिएका छन्। यस्तो अवस्थाले जनस्वास्थ्य, कृषि र दैनिक जनजीवनमा समेत गम्भीर असर पार्ने चिन्ता व्यक्त गरिएको छ।






























