अत्तरियामा सर्वधर्मीय ऐक्यबद्धता : ‘धर्म फरक भए पनि देश र समाजका लागि हामी एक हौं’

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा सामाजिक सद्भाव, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्देश्यले सर्वधर्मीय संवाद तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानको संयुक्त आयोजनामा आइतबार भएको कार्यक्रममा विभिन्न धर्मका अगुवा, सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।\

CP Hospital Dhangadhi

कार्यक्रममा पछिल्लो राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै धार्मिक सहिष्णुता, आपसी विश्वास र राष्ट्रहितका साझा विषयमा खुला छलफल गरिएको थियो। सहभागीहरूले समाजमा द्वेष, विभाजन र हिंसाभन्दा मेलमिलाप, सहकार्य र आपसी सम्मानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

लक्ष्मीनारायण मन्दिरका पुजारी हरिशंकर उपाध्यायले धार्मिक सद्भाव भाषणमा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए। उनले सबैको हितलाई केन्द्रमा राखेर अघि बढे मात्रै समाजमा दीगो शान्ति कायम हुने धारणा व्यक्त गरे।

nawajiwan
Attariya Hospital

मुस्लिम समुदायका अगुवा मोहम्मद गुलाम रब्बानीले ‘हामी नेपाली एक हौं’ भन्ने भावनालाई व्यवहारमा उतार्नुपर्ने समय आएको उल्लेख गरे। इसाई समाज गोदावरीका अध्यक्ष डेभिड कैनीले विगतका द्वन्द्वबाट शिक्षा लिएर अब देशलाई शान्ति, मेलमिलाप र सहकार्यको बाटोमा अघि बढाउनुपर्ने बताए।

सन्त निरङ्कारी मण्डलका अध्यक्ष भीम विकले मानवताको सेवा नै सच्चा धर्म भएको उल्लेख गर्दै धैर्यता र आपसी सम्मानबाट मात्रै सामाजिक समस्या समाधान गर्न सकिने बताए। ओम शान्तिकी सदस्य निर्मला चटौतले अहंकार र विभाजनकारी सोच त्यागेर प्रेम, सहिष्णुता र सद्भावलाई जीवनमा अपनाउन आग्रह गरिन्।

कार्यक्रमका वक्ताहरूले नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायबीच आपसी विश्वास, सहिष्णुता र एकता कायम राख्नु वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता भएको निष्कर्ष निकाले।