
बझाङको चर्चित पर्यटकीय गन्तव्य बारिल छडा झरनासम्म पुग्ने पदमार्ग स्थानीय युवाहरूको श्रमदानबाट निर्माण भएपछि पर्यटकको आवतजावत थप सहज र सुरक्षित बनेको छ। जयपृथ्वी नगरपालिका–९ स्थित झरनामा पुग्ने करिब डेढ किलोमिटर पदमार्ग ५० भन्दा बढी युवाले दुई दिन श्रमदान गरेर फराकिलो, सफा र सुरक्षित बनाएका हुन्।


स्थानीय युवा नरेन्द्र खड्काको नेतृत्वमा सञ्चालन गरिएको अभियानअन्तर्गत साँघुरो, चिप्लो र झाडीले ढाकिएको बाटो सफा गर्नुका साथै हिँड्न सहज हुने गरी विस्तार गरिएको छ। वर्षायाममा पर्यटक चिप्लिने तथा दुर्घटनाको जोखिम बढेपछि युवाहरू स्वयं अग्रसर भएका हुन्।
पदमार्ग निर्माणसँगै झरनानजिकको खुला चौर पनि व्यवस्थित गरिएको छ। सडक निर्माणका क्रममा खसेका ढुंगा हटाई बस्न मिल्ने चौतारो र पर्खाल निर्माण गरिएकाले पर्यटकलाई विश्राम, पिकनिक तथा सामूहिक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्थानीयले बताएका छन्।
सदरमुकाम चैनपुरबाट करिब १५ मिनेटको दूरीमा रहेको बारिल छडा झरना पछिल्ला वर्षहरूमा बझाङको लोकप्रिय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। रिठापाटा–सुर्मा सडक वर्षभर सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ। सार्वजनिक बिदाका दिन एकै दिनमा एक हजारभन्दा बढी पर्यटक पुग्ने स्थानीयको भनाइ छ।
पर्यटन गतिविधि बढेसँगै होटल, रेस्टुरेन्ट, चियापसल तथा स्थानीय उत्पादनको व्यापार विस्तार भएको छ भने युवाले पर्यटनसँग सम्बन्धित साना व्यवसायबाट रोजगारी पनि सिर्जना गरेका छन्। तर, सार्वजनिक शौचालयलगायत आधारभूत पूर्वाधारको अभाव रहेको भन्दै स्थानीयले नगरपालिकालाई आवश्यक सुविधा विस्तार गर्न आग्रह गरेका छन्।






























