
नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकासहितका तेस्रो वर्गका क्षेत्रमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ वृद्धि गरेको हो।

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएर २४९ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने काठमाडौँका लागि प्रति किलोलिटर १३१ अमेरिकी डलर वृद्धि गरिएको छ। पोखरा र भैरहवामा भने नाफा–नोक्सानरहित मूल्यमा बिक्री गर्ने निर्णय भएको छ। एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २,०६० रुपैयाँमै यथावत राखिएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको खरिद मूल्य उल्लेख्य रूपमा बढेर आए पनि उपभोक्तालाई कम भार पर्ने गरी सीमित मात्र मूल्य वृद्धि गरिएको हो। मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब कायम रहेकाले इन्धनको मितव्ययी प्रयोग गर्न निगमले उपभोक्तासँग आग्रह गरेको छ।































