
बैतडी: बैतडीमा नगर बसबाट अवैध रूपमा भित्र्याइएको बिँडी बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार झुलाघाटबाट सतबाँझतर्फ आइरहेको नगर बसलाई गोठलापानीमा नियमित चेकजाँच गर्ने क्रममा आज करिब साढे सात हजार रुपैयाँ बराबरको २८ बण्डल बिँडी बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार बरामद गरिएको बिँडी कसले बसमा राखेको वा कसको स्वामित्वमा रहेको भन्ने कुरा हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा उक्त बिँडी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। बरामद गरिएको बिँडी आवश्यक कानुनी प्रक्रिया पूरा गरी महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरीले जानकारी दिएको छ।

दशरथचन्द नगरपालिकाले सञ्चालन गर्दै आएको नगर बस दैनिक रूपमा सतबाँझ–झुलाघाट रुटमा आवतजावत गर्दै आएको छ। बसमा अवैध सामग्री कसरी र कसले राख्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सीमावर्ती क्षेत्रमा अवैध वस्तु ओसारपसार नियन्त्रणका लागि चेकजाँचलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ।





























