
कैलालीको अत्तरियामा आज सर्वधर्मीय सद्भाव र्याली आयोजना गरिने भएको छ। वर्तमान राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानको संयुक्त आयोजनामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने उद्देश्यले र्याली गर्न लागिएको हो।

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लका अनुसार र्याली आज साँझ ४ बजे अत्तरियाको पूर्व रोडस्थित प्रतिभा पुस्तकालयबाट सुरु हुनेछ। र्यालीमा विभिन्न धर्म, समुदाय र क्षेत्रका नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ।

यसअघि आइतबार गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानले अत्तरियामा सर्वधर्मीय संवाद कार्यक्रम पनि आयोजना गरेका थिए। उक्त कार्यक्रममा वर्तमान राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै धार्मिक सहअस्तित्व, पारस्परिक सम्मान, सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धिका विषयमा व्यापक छलफल भएको थियो।

साथै, राष्ट्रहितलाई केन्द्रमा राखेर साझा धारणा निर्माण, विभिन्न समुदायबीच सहकार्य बढाउने तथा शान्तिपूर्ण सामाजिक वातावरण कायम राख्ने विषयमा सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकहरूले सबै नागरिकलाई सद्भाव र्यालीमा सहभागी भई राष्ट्रिय एकता, सहिष्णुता र सामाजिक मेलमिलापको सन्देश फैलाउन आग्रह गरेका छन्।





























