
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीले सेवा प्रवाहलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘पेपरलेस धनगढी’ (कागजबिहीन) सेवाको औपचारिक शुभारम्भ गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उपमहानगरपालिकाले एकीकृत डिजिटल प्रणाली सञ्चालनमा ल्याउँदै अब अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराइने जनाएको हो।

उपमहानगरका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर अनुप भट्टका अनुसार ‘युनिफाइड डिजिटल गभर्नेन्स प्लेटफर्म (यूडीजीपी)’ मार्फत विभिन्न सफ्टवेयरलाई एउटै प्रणालीमा एकीकृत गरिएको छ। यसले नागरिकका विवरण सुरक्षित राख्नुका साथै एउटै कागजात पटक–पटक बुझाउनुपर्ने झन्झट हटाउने विश्वास गरिएको छ। पछिल्लो समय बढ्दो बसाइँसराइका कारण वास्तविक नगरवासी र करदाताको पहिचान गर्न पनि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ।
पहिलो चरणमा १९ वटै वडाका सचिवलाई तालिम दिइएको छ। नागरिक ई–केवाईसी, विभिन्न सिफारिस, फाइल ट्र्याकिङ तथा अन्य डिजिटल सेवासम्बन्धी क्षमता विकास गरिँदैछ। प्रविधिको प्रयोगमा असहज हुने सेवाग्राहीका लागि कार्यालयमै हेल्पडेस्क स्थापना गरिनेछ, जहाँ कर्मचारीले डिजिटल प्रक्रिया पूरा गर्न सहजीकरण गर्नेछन्।


प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि जन्मदर्ता, नागरिकताका लागि सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा घरमै बसेर अनलाइनमार्फत लिन सकिनेछ। आवश्यक कागजात अपुग भए मोबाइलमै सूचना आउनेछ भने तयार भएका कागजात क्यूआर कोडसहित मोबाइलमा प्राप्त हुनेछन्।
यूडीजीपीमा ई–सिग्नेचर, डिजिटल अभिलेख व्यवस्थापन, गुनासो व्यवस्थापन, डिजिटल भुक्तानी, राजस्व संकलन, विकास निर्माण अनुगमन, सार्वजनिक सूचना, विपद् व्यवस्थापन, डेटा सुरक्षा र डेटा दृश्यावलोकनलगायतका अत्याधुनिक सुविधा समेटिएका छन्। उपमहानगरले यस प्रणालीबाट छिटो, सहज र झन्झटमुक्त सेवा प्रवाह सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।





























