
धनगढी उपमहानगरपालिका–४, भवित टोलस्थित पवित्र एवं आध्यात्मिक आभाले आलोकित शिवगौरी धाममा आज मिति २०८३ साल साउन १८ गते, सोमबार नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरू, सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीका पदाधिकारीहरू, सकल दर्जा तथा विद्यार्थीहरूको गरिमामय उपस्थितिमा एक भव्य तथा आध्यात्मिक वातावरणमा विशेष पूजा–आराधना कार्यक्रम सम्पन्न भएको छ।

शिवगौरी धामको पवित्र प्राङ्गण आज सैनिक अनुशासन, श्रद्धा र आस्थाको सुगन्धले भरिएको थियो। भगवान शिव र माता गौरीप्रति समर्पित उक्त धार्मिक अनुष्ठानमा नेपाली सेनाका अप्रा. ले.प. कर्णेल श्री रामकृष्ण अधिकारी, सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीका प्रमुख व्यवस्थापक कर्णेल श्री खिलबहादुर राना, बन्दोबस्ती अधिकृत मेजर श्री सविन खत्री, सहायक बन्दोबस्ती अधिकृत क्याप्टेन श्री सनी तामाङ, लेखा सुवेदार श्री अनिल थापा, लेखा जमदार श्री प्रकाश ढकाल लगायत नेपाली सेनाका सकल दर्जा तथा सैनिक आवासीय महाविद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूले विधिपूर्वक पूजा–आराधना गर्दै शिवगौरी धामको दिव्य शक्तिप्रति आफ्नो गहिरो श्रद्धा, आस्था र समर्पण प्रकट गर्नुभएको थियो। धाम परिसरमा गुञ्जिएको मन्त्रध्वनि र भक्तिभावले सम्पूर्ण वातावरणलाई आध्यात्मिक शान्ति र पवित्रताले भरिदिएको थियो।


कार्यक्रमको अवसरमा शिवगौरी धाम संरक्षण समाजका अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरूको उपस्थितिमा नेपाली सेनाको टोलीलाई धामको तर्फबाट मायाको चिनो प्रदान गरी हार्दिक सम्मान गरिएको थियो। साथै, पवित्र धाममा उपस्थित भई श्रद्धापूर्वक पूजा–आराधना तथा दर्शन गर्नुभएकोमा सम्पूर्ण नेपाली सेनाको टोलीप्रति संरक्षण समाजले गहिरो कृतज्ञता सहित हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
यस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूले नेपाली सेना र स्थानीय समुदायबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै धर्म, संस्कृति र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
उक्त कार्यक्रमको जानकारी शिवगौरी धाम संरक्षण समाजका सचिव इन्द्रबहादुर सिंहले दिनुभएको हो।





























