
अत्तरियाः सुदूरपश्चिममा क्षमता भन्दा बढी भार बोकेर सञ्चालन हुने मालवाहक ट्रकमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाही कडा बनाएको छ। विशेषगरी पहाडी रुटमा चल्ने ट्रकहरूको भार क्षमता जाँचलाई तीव्र पारिएको हो। गोदावरीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा क्षमता भन्दा बढी सामान बोकेको पाइएमा जरिवाना गर्नुका साथै अतिरिक्त सामान झार्नसमेत लगाइँदै आएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख नवराज कार्कीका अनुसार केन्द्रबाट आएको निर्देशनअनुसार भार क्षमता परीक्षणमा कडाइ गरिएको हो। उनले ट्रकको कुल तौल (GVW) भन्दा बढी भार बोकेको पाइए कानुनअनुसार कारबाही गरिने बताए।

तर ट्राफिकको कडाइसँगै यातायात कार्यालय र ट्राफिक प्रहरीबीचको फरक मापदण्डले व्यवसायी अन्योलमा परेका छन्। धेरै ट्रकका ब्लु बुकमा ट्रकले बोक्न मिल्ने सामानको तौल मात्रै उल्लेख छ भने केहीमा कुल तौल (GVW) उल्लेख गरिएको छ। यही असमान विवरणका कारण एउटै प्रकृतिका सवारीमा फरक–फरक आधारमा कारबाही भइरहेको व्यवसायीहरूको गुनासो छ।

ट्रक व्यवसायी हरि महरा र पदम ठगुन्नालगायतले ब्लु बुकमा उल्लेख गरिएको क्षमताअनुसार नै सामान ढुवानी गर्दा पनि ट्राफिक प्रहरीले GVW को आधारमा जरिवाना गरिरहेको बताएका छन्। उनीहरूका अनुसार वर्षौंदेखि एउटै मापदण्डमा सञ्चालन भइरहेका ट्रकलाई पछिल्ला केही दिनदेखि गोदावरी चेकपोस्टमा मात्रै नयाँ व्याख्या गरेर कारबाही गरिनु अन्यायपूर्ण भएको दाबी छ।
यता ट्राफिक प्रहरीले भने GVW उल्लेख नभएका ट्रकको हकमा सोही मोडेलका अन्य सवारीको विवरणका आधारमा तौल निर्धारण गरी कारबाही गर्दै आएको जनाएको छ। व्यवसायीहरूले भने अनुमानका आधारमा जरिवाना गर्नु कानुनी रूपमा उचित नभएको भन्दै विरोध जनाएका छन्।
यसबीच ट्रक व्यवसायीहरूले सबै सवारीका ब्लु बुकमा स्पष्ट रूपमा GVW उल्लेख गरी देशभर एउटै मापदण्ड लागू गर्न माग गरेका छन्। स्पष्ट नीति र एकरूप मापदण्ड नहुँदा ट्राफिक र व्यवसायीबीच विवाद बढ्दै गएको छ।






























