
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चाल्ने निर्णय गरेको छ। अस्पताल प्रशासनले सरकारी सेवाप्रतिको जिम्मेवारी सुनिश्चित गर्दै कार्यालय समयभित्र निजी अभ्यासमा संलग्न हुने चिकित्सकमाथि प्रचलित कानुन तथा सेवा–शर्तअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिएको हो।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा मंगलबार जारी सूचनाअनुसार केही चिकित्सकले कार्यालय समयमै अस्पताल छाडेर निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा सेवा दिने गरेको गुनासो प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो। अस्पतालले सरकारी सेवामा खटिएका चिकित्सकले कार्यालय समयभरि आफ्नै कार्यस्थलमा उपस्थित रही तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने व्यवस्था पुनः कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ।
अस्पताल प्रशासनका अनुसार सरकारी अस्पतालको सेवा प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन चिकित्सकको नियमित उपस्थिती अनिवार्य छ। यसबाट बिरामीले समयमै उपचार पाउने, अनावश्यक प्रतीक्षा घट्ने र अस्पतालको सेवा प्रवाह थप व्यवस्थित तथा विश्वासिलो बन्ने अपेक्षा गरिएको छ।


सूचनामा कार्यालय समयभित्र कुनै पनि चिकित्सक निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा कार्यरत रहेको प्रमाणित भए कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। सेती प्रादेशिक अस्पतालले सरकारी स्वास्थ्य सेवामा अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै बिरामीको हितलाई केन्द्रमा राखेर यो व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ।
अस्पतालको यो निर्णयले सरकारी अस्पतालमा चिकित्सकको नियमित उपस्थिती सुनिश्चित हुने, सेवाग्राहीले सहज रूपमा उपचार पाउने तथा सार्वजनिक स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास अझ मजबुत हुने अपेक्षा गरिएको छ।






























