आठ दिनपछि धनगढीकी पूजा धानुकको अन्त्येष्टि, रहस्यमय मृत्युबारे अनुसन्धान अझै जारी

Image
Nisarga Hospital

धनगढीकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु भएको आठ दिनपछि अन्ततः उनको अन्त्येष्टि गरिएको छ। दुवै पक्षबीच सहमति भएपछि सेती प्रादेशिक अस्पतालमा आठ दिनदेखि राखिएको शव परिवारले सोमबार बुझेर दाहसंस्कार गरेको हो। यद्यपि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।

प्रहरीका अनुसार पूजाको विवाह करिब छ महिनाअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१, हातीथलाकी ३१ वर्षीय भरत धामीसँग भएको थियो। साउन ११ गते धनगढी उपमहानगरपालिका–४, न्युरोडस्थित घरमा उनी सिलिङ फ्यानमा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन्। तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि पूजाका माइती पक्षले यो आत्महत्या नभई हत्या भएको दाबी गर्दै श्रीमान्, बाजे, बज्यै, फुपू र नन्दविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका छन्। उक्त जाहेरीका आधारमा प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

मृत्युपछि दोस्रो दिनदेखि नै माइती पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत विभिन्न सरकारी निकाय अगाडि दैनिक धर्ना, प्रदर्शन तथा नाराबाजी गर्दै आएका थिए। उनीहरूको आन्दोलनपछि घटनाले व्यापक सार्वजनिक चासोसमेत पाएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता योगेन्द्रप्रसाद तिमिल्सिनाले घटनाको पोस्टमार्टम रिपोर्ट अझै प्राप्त नभएको जानकारी दिए। उनका अनुसार रिपोर्ट आउन केही दिनदेखि एक महिनासम्म लाग्न सक्ने भएकाले त्यसको प्रतीक्षा भइरहेको छ। पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक तथ्य र अन्य प्रमाणका आधारमा घटनाको निष्पक्ष अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi