
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी उप–सचिव हरिस पन्तले सम्हालेका छन्। गौरीगंगा नगरपालिकाबाट सरुवा भएर आएका पन्तले सोमबारदेखि औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेका हुन्।

नगरपालिकाले सोमबार आयोजित कार्यक्रममा नवनियुक्त शिक्षा शाखा प्रमुख पन्तलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। शिक्षा क्षेत्रको अनुभवका आधारमा उनले गोदावरी नगरपालिकाको शैक्षिक विकास, विद्यालय व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसअघि शिक्षा शाखा प्रमुखका रूपमा कार्यरत उप–सचिव वसन्त खत्रीको सरुवा भएपछि उक्त शाखाको नेतृत्व अस्थायी रूपमा प्रयागराज जोशीले सम्हाल्दै आएका थिए। पन्तको आगमनसँगै शिक्षा शाखाले स्थायी नेतृत्व पाएको नगरपालिकाले जनाएको छ।

गोदावरी नगरपालिकाभित्र सामुदायिक विद्यालयको गुणस्तर सुधार, शैक्षिक प्रशासनलाई व्यवस्थित बनाउने, शिक्षक तथा विद्यालयसँग समन्वय बढाउने लगायतका विषयमा नयाँ नेतृत्वले प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ। स्थानीय तहको शिक्षा व्यवस्थापनलाई थप प्रभावकारी र सेवामुखी बनाउने दिशामा पन्तको नेतृत्व महत्त्वपूर्ण हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।






























