
डोटी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरको वार्षिक पूजाका लागि डोटी जिल्ला प्रशासन कार्यालय ‘पेटारो’ (विशेष पूजा सामग्री) तयार गर्ने अन्तिम तयारीमा जुटेको छ। परम्पराअनुसार बडीमालिका पूजाको १५ दिनअघि, साउन २८ गते डोटी गौडा (हालको जिल्ला प्रशासन कार्यालय)बाट सरकारी पूजा टोली विशेष पूजा सामग्रीसहित पैदल यात्रामा निस्कनेछ।

डोटीबाट बडीमालिका पठाइने ‘पेटारो’लाई सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ। शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टका अनुसार यो परम्परा केवल धार्मिक अनुष्ठानमा सीमित नभई यस क्षेत्रको इतिहास, संस्कृति र आस्थासँग जोडिएको जीवित सम्पदा हो।
परम्पराअनुसार श्रावण औँसीको अघिल्लो दिन शिलगढीमा विशेष पूजा, आराधना तथा उत्सव आयोजना गरिन्छ। त्यसपछि प्रतिपदादेखि सरकारी पूजा टोली पूर्वनिर्धारित मार्ग र बासस्थान हुँदै पैदल यात्रा गरेर बडीमालिका पुग्ने गर्छ।


पूजा टोलीमा सहभागी हुने व्यक्तिको छनोट, व्यवस्थापन तथा आवश्यक समन्वय डोटी जिल्ला प्रशासन कार्यालयले गर्दै आएको छ। खर्च व्यवस्थापन भने डोटीका स्थानीय तहहरूले पालैपालो गर्ने परम्परा छ। यस वर्षको यात्रा तथा पूजासम्बन्धी खर्च बोगटान–फुड्सिल गाउँपालिकाले व्यहोर्ने निर्णय भएको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले जानकारी दिएका छन्।
सयौँ वर्षदेखि निरन्तर चलिआएको यो परम्पराले सुदूरपश्चिमको धार्मिक विश्वास, सांस्कृतिक मौलिकता र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै आएको विश्वास गरिन्छ। बडीमालिका यात्राले हरेक वर्ष हजारौँ श्रद्धालु तथा पर्यटकलाई आकर्षित गर्दै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने गरेको छ।






























