
कञ्चनपुर : भारतबाट भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक (इभी) स्कुटर नेपाल भित्र्याउने क्रम बढेपछि कञ्चनपुरमा स्थानीय प्रशासनले निगरानी र कारबाही तीव्र बनाएको छ। पछिल्लो एक महिनामा मात्र भन्सार नतिरी भित्र्याइएका तथा दर्ताविना सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालयमा बुझाएका छन्।
खुला सीमा नाकाका कारण भारतीय बजारबाट स्कुटर भित्र्याएर दर्ता नगरी सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको प्रशासनको निष्कर्ष छ। कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार छल्नु कानुनविपरीत भएकाले यस्ता सवारीमाथि कडाइ गरिएको बताए। उनका अनुसार नियन्त्रणमा परेका स्कुटर कानुनी प्रक्रिया पूरा गरी लिलाम गरिनेछ भने दर्ता सम्बन्धी विषयमा पनि प्रशासनिक तहमा आवश्यक छलफल भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले दर्ताविना सञ्चालन हुने स्कुटरले दुर्घटनाको जोखिम बढाउने भएकाले सबै इभीलाई कानुनी दायरामा ल्याउने अभियान चलाइएको जानकारी दिए।
भन्सार कार्यालयका अनुसार पछिल्लो १० वर्षमा कञ्चनपुरमा करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएका छन्। तर हाल भन्सार छल्ने र दर्ताविना सञ्चालन गर्ने क्रम बढेपछि प्रशासनले सीमा क्षेत्रमा निगरानी थप कडा बनाएको छ।































