
काठमाडौं जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा अब जथाभाबी हुक्का तथा चुरोट सेवन गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै सबै व्यवसायीलाई सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार अनिवार्य रूपमा छुट्टै धुम्रपान क्षेत्र (Smoking Zone) व्यवस्थापन गर्न निर्देशन दिएको हो।

प्रशासनका अनुसार अव्यवस्थित रूपमा धुम्रपान गरिँदा धुम्रपान नगर्ने ग्राहक तथा सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै लगातार गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। अब होटल तथा रेस्टुरेन्टले धुम्रपान गर्न मिल्ने र नमिल्ने क्षेत्र स्पष्ट रूपमा छुट्याउनुपर्नेछ। धुम्रपानका लागि तोकिएको स्थान चारैतिरबाट बन्द हुनुपर्ने र त्यहाँबाट निस्कने धुवाँ अन्य ग्राहकसम्म नपुग्ने व्यवस्था अनिवार्य गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले तोकिएका निकायमार्फत जुनसुकै बेला अनुगमन गरिने जनाएको छ। निरीक्षणका क्रममा कानुनविपरीत धुम्रपान गराएको वा आवश्यक व्यवस्था नगरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।


सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामार्फत सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्दै व्यवस्थित र जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ।































