
अत्तरिया : कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिका–५ बैजपुरमा निर्माण सम्पन्न भएको अस्पतालको बुधबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन्।

सङ्घीय सरकारको १८ करोड ५२ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको अस्पताल गत असारमै गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने सङ्घीय सरकारको नीतिअनुसार निर्माण गरिएको यो अस्पताल सञ्चालनमा आएसँगै कैलारीका नागरिकले आफ्नै पालिकाबाट स्वास्थ्य सेवा प्राप्त गर्ने भएका छन्।
विशेषगरी गाउँपालिकाको दक्षिणी भेगका बासिन्दाले सामान्यदेखि आवश्यक स्वास्थ्य उपचारका लागि धनगढी तथा सीमावर्ती भारतसम्म धाउनुपर्ने बाध्यता अब धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ। यसअघि पर्याप्त स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवाको अभावका कारण सामान्य बिरामीसमेत उपचारका लागि टाढा जान बाध्य थिए।


अस्पताल सञ्चालनमा आएसँगै प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवा, आकस्मिक उपचार, सुरक्षित प्रसूति तथा अन्य आवश्यक स्वास्थ्य सेवाहरू स्थानीयस्तरमै उपलब्ध हुने विश्वास गरिएको छ। यसले नागरिकको समय र उपचार खर्च दुवै बचत गर्नुका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले अस्पताल सञ्चालनसँगै कैलारीका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा गाउँपालिका प्रतिबद्ध रहेको बताए।






























