
पाकिस्तानको काराकोरम पर्वतमालास्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित चार जनाको शव उद्धार गरी आधार शिविरमा ल्याइएको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी)ले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो।

गत जुलाई ३० मा आएको हिमपहिरोपछि ४३ वर्षीय पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीसँग सम्पर्क विच्छेद भएको थियो। पछि उनको कम्पनीले टोलीका कोही पनि जीवित नरहेको पुष्टि गरेको थियो।
एसीपीका अनुसार अत्यन्त कठिन र प्राविधिक रूपमा जटिल उद्धार अभियानपछि निर्मल पुर्जा, निमा शेर्पा, किलु शेर्पा र चिनियाँ पर्वतारोही झोङ वाङको शव सुरक्षित रूपमा आधार शिविरमा ल्याइएको हो। क्लबले यसलाई उद्धार अभियानको महत्त्वपूर्ण उपलब्धि भने पनि अझै तीन जना पर्वतारोही बेपत्ता रहेको जनाएको छ। उनीहरूको खोजी जारी रहने र परिस्थितिले साथ दिएसम्म सबै सम्भावित प्रयास गरिने एसीपीले जनाएको छ।


यसअघि टोलीका एक अमेरिकी महिला, एक ओमानी महिला र एक नेपाली पुरुषको शव हेलिकोप्टरमार्फत स्कार्दु पुर्याइसकिएको छ। अझै दुई नेपाली र एक पाकिस्तानी पर्वतारोहीको शव फेला परेको छैन।
८,०४७ मिटर अग्लो ब्रोड पिक विश्वकै सबैभन्दा कठिन र प्राविधिक हिमालमध्ये एक मानिन्छ। यसको पहिलो सफल आरोहण सन् १९५७ मा अस्ट्रियाली टोलीले गरेको थियो।






























