
नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा यज्ञराज चौधरी नियुक्त भएका छन्। नेपाल नेत्र ज्योति संघको वर्तमान केन्द्रीय कार्यसमितिले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।

चौधरी लामो समयदेखि सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। यसअघि उनी गेटा आँखा अस्पताल व्यवस्थापन समितिको उपाध्यक्षका रूपमा कार्यरत रहँदै अस्पतालको व्यवस्थापन, सेवा प्रवाह र संस्थागत विकासमा योगदान दिँदै आएका थिए।

उनको नियुक्तिसँगै अस्पतालको व्यवस्थापनलाई अझ सुदृढ बनाउने, सेवा विस्तार गर्ने तथा बिरामीलाई गुणस्तरीय, सहज र प्रभावकारी नेत्र उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। साथै आधुनिक उपकरण, दक्ष जनशक्ति व्यवस्थापन र सेवाको पहुँच विस्तारमा पनि सकारात्मक पहल हुने विश्वास गरिएको छ।

सुदूरपश्चिमका हजारौं सेवाग्राहीलाई नेत्र उपचार सेवा प्रदान गर्दै आएको गेटा आँखा अस्पतालमा नयाँ नेतृत्वसँगै सेवा प्रवाह थप प्रभावकारी र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ। अस्पतालले आगामी दिनमा बिरामीमैत्री सेवा, उपचारको गुणस्तर र संस्थागत विकासलाई थप प्राथमिकता दिने विश्वास व्यक्त गरिएको छ।






























