
दार्चुलामा प्रसव व्यथाले छट्पटाइरहेकी एक गर्भवती महिलालाई नेपाल प्रहरीले स्टेचरमा बोकेर सुरक्षित रूपमा स्वास्थ्य चौकी पुर्याएको छ। दुर्गम क्षेत्रमा देखिएको यस मानवीय कार्यको स्थानीयले प्रशंसा गरेका छन्।

लेकम गाउँपालिका–६ निवासी २४ वर्षीया गर्भवती महिलालाई एक्कासि प्रसव व्यथा सुरु भएपछि तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था सिर्जना भएको थियो। सडक तथा यातायातको सहज पहुँच नभएकाले इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले स्टेचरको सहायताले उनलाई स्वास्थ्य चौकीसम्म पुर्याएको हो।

समयमै स्वास्थ्य संस्थामा पुर्याइएकी ती महिलाले आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेको प्रहरीले जनाएको छ। प्रहरीको तत्परता र मानवीय सेवाका कारण गर्भवतीलाई समयमा उपचार उपलब्ध गराउन सम्भव भएको बताइएको छ। दुर्गम क्षेत्रमा आपत्कालीन अवस्थामा प्रहरीले निर्वाह गरेको यो भूमिका स्थानीय समुदायका लागि उदाहरणीय बनेको छ।































