
इरानसँग करिब पाँच महिनादेखि जारी युद्धका कारण अमेरिकाको अत्याधुनिक हतियार भण्डार उल्लेखनीय रूपमा घट्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। विशेषगरी लामो दूरीमा सटिक प्रहार गर्न प्रयोग हुने एटिएसिएमएस (ATACMS), नयाँ पुस्ताको प्रिसिजन स्ट्राइक मिसाइल (PrSM), टमाहक क्रुज मिसाइल तथा प्याट्रियट र थाडजस्ता प्रतिरक्षा प्रणालीका मिसाइलको भण्डार तीव्र रूपमा घटेको बताइएको छ।

रोयटर्सका अनुसार अमेरिकी प्रशासनभित्र इरानमाथि थप सैन्य कारबाही जारी राख्दा भविष्यमा चीन वा रूससँग सम्भावित द्वन्द्वका लागि आवश्यक हतियार अभाव हुन सक्ने विषयमा उच्चस्तरीय छलफल भइरहेको छ। युद्ध लम्बिँदै जाँदा मिसाइलको व्यापक प्रयोगले सैन्य भण्डारमा ठूलो दबाब परेको स्रोतहरूको दाबी छ।
यद्यपि ह्वाइट हाउस र पेन्टागनले भने अमेरिकासँग आवश्यकताभन्दा बढी हतियार रहेको र विश्वका जुनसुकै स्थानमा सैन्य कारबाही सञ्चालन गर्ने पर्याप्त क्षमता कायम रहेको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हतियार उत्पादन इतिहासकै उच्च स्तरमा पुगेको दाबी गरेका छन्।




तर रक्षा विश्लेषकहरूले लामो दूरीका अत्याधुनिक मिसाइलको उत्पादन युद्धको मागअनुसार पर्याप्त नभएको उल्लेख गरेका छन्। अमेरिकी सेनाले आवश्यक परे विश्वभर रहेका आफ्ना सैन्य भण्डारबाट मिसाइल पुनः आपूर्ति गरिरहेको बताइए पनि दीर्घकालीन युद्धले रणनीतिक क्षमता कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
यसबीच, अमेरिकाले टमाहक मिसाइल उत्पादन बढाउन नयाँ बहुवर्षीय सम्झौताको तयारी गरिरहेको रोयटर्सले जनाएको छ। युद्धसँगै अमेरिकी कांग्रेसको स्वीकृतिबिना सैन्य कारबाही अघि बढाइएको विषय पनि पुनः बहसको केन्द्रमा परेको छ।



































