
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्। देउवा निकट नेता डा. प्रकाशशरण महतका अनुसार उपचार तथा स्वास्थ्य परीक्षणका लागि विदेशमा रहेका देउवा सोही दिन काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

देउवा गत फागुनमा उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि उनी पत्नीसहित हङकङमा बस्दै आएका थिए। कांग्रेसभित्रको आन्तरिक विवाद चर्किरहेका बेला उनको स्वदेश फिर्तीलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। यता, देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकन निवेदन स्वीकृत भएसँगै कांग्रेस विवादसम्बन्धी मुद्दाको सुनुवाइ पुनः सुरुदेखि हुने भएको छ।

पार्टीभित्र नेतृत्व र संगठनात्मक विषयमा मतभेद बढिरहेका बेला देउवाको आगमन र त्यसपछि हुने गतिविधिले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारणमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।































