
राष्ट्रिय सभामा निर्मला पन्त हत्या प्रकरणबारे दिएको अभिव्यक्तिपछि आलोचनामा परेका गृहमन्त्री सुधन गुरुङले आफ्नो भाषा र शैली रुखो भएको स्वीकार गर्दै सांसदहरूसँग सार्वजनिक रूपमा माफी मागेका छन्। मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सांसदहरूसँग चर्काचर्की भएपछि उनले रोष्ट्रमबाटै क्षमा याचना गरेका हुन्।

यसअघि निर्मला पन्त हत्या प्रकरणबारे उठेको प्रश्नमा गृहमन्त्रीले आक्रोशित हुँदै “मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्” भन्दै चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया दिएका थिए। उक्त अभिव्यक्तिलाई संसदीय मर्यादाविपरीत भन्दै सदनभित्र आलोचना भएपछि उनले आफ्नो भनाइ सच्याएका हुन्।

पुनः सम्बोधन गर्दै गृहमन्त्री गुरुङले, “हजुरहरूबाट धेरै सिक्न बाँकी छ। मेरो भाषा अलि ठाडो भयो जस्तो लाग्यो। त्यसका लागि म क्षमाप्रार्थी छु,” भन्दै आफू नयाँ भएकाले अनुभवी सांसदहरूबाट सिक्ने क्रममा रहेको बताए।

यद्यपि, उनले विपद् व्यवस्थापनको छलफलमा निर्मला पन्त हत्या प्रकरण जोडिएकोप्रति भने असन्तुष्टि व्यक्त गरे। “हामी विपद् व्यवस्थापनबारे छलफल गरिरहेका थियौँ, तर विषय निर्मला पन्ततर्फ मोडियो। यी दुई विषयबीच के सम्बन्ध छ?” भन्दै उनले सांसदहरूलाई विषयकेन्द्रित हुन आग्रह गरे। गृहमन्त्रीको सार्वजनिक माफीपछि केहीबेर तनावग्रस्त बनेको राष्ट्रिय सभाको वातावरण सामान्य बनेको थियो।






























