
चौमालाः हेमा श्री फाउन्डेसन नेपालले केन्द्रीय अध्यक्ष मञ्जु पौड्याल (हेमा श्री) की ममतामयी आमा स्वर्गीय पवित्रा पौडेलको १६औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली तथा खिर प्रसाद ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। ८८ वर्षको उमेरमा गत साउन ५ गते निधन भएकी स्वर्गीय पौडेलको स्मृतिमा प्रज्ञा अभियान गायत्री परिवार मोहन्यालेश्वर धाम, चौमालामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा स्वर्गीय पौडेलको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन, पुष्पाञ्जली तथा मौनधारण गर्दै सहभागीहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।
हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले स्वर्गीय पौडेलको जीवन त्याग, सेवा, सद्भाव र मानवीय मूल्यको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै उहाँका आदर्श भावी पुस्ताका लागि प्रेरणादायी बन्ने बताए। उहाँले सेवा र संस्कारलाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे।


प्रज्ञा अभियान गायत्री परिवार मोहन्यालेश्वरका रामसिंह ठकुरीले शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा हेमा श्री फाउन्डेसन नेपालले गर्दै आएका कार्यको प्रशंसा गर्दै संस्थाले समाजमा सकारात्मक योगदान पुर्याइरहेको बताए। उनले स्वर्गीय पवित्रा पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।
श्रद्धाञ्जली सभापछि सहभागीहरूले सामूहिक रूपमा खिर प्रसाद ग्रहण गरेका थिए। श्रद्धा, सम्मान र आध्यात्मिक वातावरणमा सम्पन्न कार्यक्रमले सेवा, संस्कार, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्ने सन्देश दिएको आयोजकले जनाएको छ।































