
जापानी कम्पनी ट्रस्को नाकायामाले अत्यधिक गर्मीबाट मानिसलाई सुरक्षित राख्न विशेष प्रविधियुक्त ‘डु हिएमोन बक्स’ नामक मानव–उपयोगी फ्रिज बजारमा ल्याएको छ। हिटस्ट्रोकको जोखिम कम गर्ने उद्देश्यले विकास गरिएको यो बुथ हाल जापानमा निकै चर्चामा छ।

करिब १५ लाख येन (झण्डै १४ लाख ४७ हजार रुपैयाँ) मूल्य पर्ने यो उपकरण यसै वर्षदेखि बिक्रीमा आएको हो। हालसम्म स्टिल उद्योग, निर्माण कम्पनी, गल्फ कोर्स, विश्वविद्यालय तथा मनोरञ्जनस्थलमा गरी करिब २०० थान बिक्री भइसकेको कम्पनीले जनाएको छ।
चक्का जडान गरिएको यो बक्स सामान्य विद्युतीय प्लगबाट सञ्चालन गर्न सकिन्छ। यसको भित्रको तापक्रम करिब १५ डिग्री सेल्सियस कायम रहन्छ भने मानिस प्रवेश गरेपछि ५ डिग्री सेल्सियसको चिसो हावा प्रवाह हुने प्रणाली जडान गरिएको छ। कम्पनीका अनुसार यो आराम गर्ने कोठा नभई गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रन लागेका व्यक्तिलाई तत्काल राहत दिन डिजाइन गरिएको हो।


उत्पादन विभागका महाप्रबन्धक फुमियाकी मात्सुबाराले यसको मुख्य उद्देश्य आराम नभई हिटस्ट्रोकबाट जोगाउनु रहेको बताएका छन्। हालै कुमामोतोमा आएको भूकम्पपछि अस्थायी आश्रयस्थलमा समेत यो बक्स प्रयोग गरिएको थियो।
करिब एक अर्ब डलर बजार मूल्य र ३,३०० कर्मचारी रहेको ट्रस्को कम्पनीका अनुसार जर्मनी र अमेरिकाबाट पनि यस प्रविधिप्रति चासो देखाइएको छ। जापानमा गर्मी बढ्दै जाँदा र कार्यस्थल सुरक्षा नियम कडा बन्दै जाँदा यस्ता उपकरणको माग तीव्र रूपमा बढिरहेको कम्पनीको भनाइ छ।






























