गेटाको विश्वविद्यालयमा चिकित्सा शिक्षाको ढोका खुल्दै, ३०० शय्याको शिक्षण अस्पताल एक महिनाभित्र सञ्चालन हुने तयारीमा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ले यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। विश्वविद्यालयले आगामी एक महिनाभित्र आफ्नै ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक उपकरण जडान, शैक्षिक जनशक्ति नियुक्ति तथा प्रशासनिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

CP Hospital Dhangadhi

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीका अनुसार मन्त्रिपरिषद्बाट चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्राप्त भइसकेको छ भने आवश्यक बजेट व्यवस्थापनसँगै प्राविधिक र कानुनी प्रक्रिया पनि तीव्र गतिमा अघि बढेको छ। यसै शैक्षिक सत्रदेखि एमबीबीएस, बीएस्सी नर्सिङ, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र बी अप्टोमेट्री कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। चिकित्सा शिक्षा आयोगमा आवेदन बुझाइसकिएको छ भने ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोतसमेत सुनिश्चित भइसकेको जनाइएको छ। आयोगको टोलीले भदौमा स्थलगत निरीक्षण गरी थप प्रक्रिया अघि बढाउनेछ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले सेती, लम्कीचुहा, टीकापुर र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ। उपकुलपति जोशीले प्रदेश सरकारको यो निर्णयलाई विश्वविद्यालयको शैक्षिक विस्तारका लागि महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेका छन्। उनका अनुसार चिकित्सा शिक्षामा सैद्धान्तिक अध्ययनसँगै प्रयोगात्मक अभ्यास अनिवार्य हुने भएकाले विभिन्न तहका अस्पतालसँग सहकार्य अपरिहार्य हुन्छ। विश्वविद्यालय ऐन–२०८२ ले पनि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहअन्तर्गतका अस्पतालसँग सम्झौता गरी शिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ।

यद्यपि, विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले भने गेटामै पूर्ण क्षमताको ३०० शय्याको विशिष्टीकृत शिक्षण अस्पताल सञ्चालनमा ढिलाइ हुन नहुनेमा जोड दिएको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेले प्रदेश सरकारको निर्णयलाई सकारात्मक रूपमा लिए पनि अन्य अस्पतालसँगको सहकार्यलाई बहाना बनाएर गेटाको आफ्नै अस्पताल विस्तार रोक्न नहुने चेतावनी दिएका छन्। उनका अनुसार विगतमा गरिएको ३०० शय्याको अस्पताल सञ्चालनको निर्णय अझै पूर्ण रूपमा कार्यान्वयन नभएकाले जनस्तरमा केही आशंका स्वाभाविक छ।

उपकुलपति जोशीले भने प्रादेशिक अस्पतालसँगको सहकार्यले विश्वविद्यालयको आफ्नै अस्पताल विस्तारमा कुनै अवरोध नपर्ने स्पष्ट पारे। बरु यसबाट विद्यार्थीले विभिन्न अस्पतालमा प्रयोगात्मक सिकाइ, अनुसन्धान र समुदायस्तरीय स्वास्थ्य सेवाको अनुभव हासिल गर्ने अवसर प्राप्त गर्ने बताए। उनका अनुसार भविष्यमा आवश्यकताअनुसार सुदूरपश्चिमका अन्य सरकारी अस्पतालसँग पनि सहकार्यको दायरा विस्तार गरिनेछ।

लामो समयदेखि प्रतीक्षामा रहेको गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय अब चिकित्सा शिक्षाको केन्द्रका रूपमा अघि बढ्ने चरणमा पुगेको छ। यदि घोषित योजना समयमै कार्यान्वयन भयो भने सुदूरपश्चिममै गुणस्तरीय चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

Attariya Hospital
nawajiwan