
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा केही उत्तरतर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

हाल बागमती, गण्डकी, सुदूरपश्चिम तथा कोशी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ। रातिको समयमा पनि अधिकांश प्रदेशका पहाडी भूभागमा वर्षा जारी रहने र हिमाली क्षेत्रमा वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम उच्च रहने चेतावनी दिएको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।































