
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्ध ‘निकै चाँडै’ अन्त्य हुने दाबी गरेका छन्। ऊर्जा मूल्यवृद्धिबारे सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले युद्ध लामो समयसम्म टिक्न नसक्ने र समाधानतर्फ प्रयास भइरहेको बताएका हुन्। तर ट्रम्पको यो दाबी भइरहँदा मध्यपूर्वमा युद्धको आगो झन् भड्किरहेको देखिएको छ।

यसैबीच, विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालनका लागि अमेरिका, इरान र ओमान अस्थायी सहमतिनजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त सहमति सफल भएमा विश्व बजारमा ऊर्जा आपूर्ति सहज हुने र बढ्दो तनाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
तर कूटनीतिक प्रयासभन्दा युद्धको मोर्चा अझै आक्रामक बनेको छ। अमेरिकाको मध्यस्थतामा इटालीको रोममा जारी युद्धविराम वार्ता निष्कर्षविहीन बन्दै जाँदा इजरायली सेनाले लगातार दोस्रो दिन पनि दक्षिण लेबनानमा तीव्र हवाई आक्रमण जारी राखेको छ। मजदेल जुन क्षेत्रमा भएको विस्फोटमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले मन्सूरी सहरलाई लक्षित गर्दै थप सैन्य कारबाही तीव्र बनाएको जनाएको छ।


इजरायली आक्रमणका कारण सर्वसाधारणका घरहरू ध्वस्त भएका छन् भने सयौं नागरिक पुनः विस्थापित हुन बाध्य भएका छन्। इजरायलले युद्धविराम उल्लङ्घनको प्रतिकारस्वरूप कारबाही गरिएको दाबी गरे पनि दुई सैनिकको मृत्यु भएको घटनाको जिम्मेवारी हिज्बुल्लाहले स्वीकार गरेको छैन।
उता, रोममा जारी वार्ता पनि इजरायलको कडा अडानका कारण अघि बढ्न सकेको छैन। दक्षिण लेबनानबाट आफ्ना सेना फिर्ता बोलाउनुअघि हिज्बुल्लाहको पूर्ण निशस्त्रीकरण हुनुपर्ने इजरायलको अडानले शान्ति प्रयास अनिश्चित बन्दै गएको छ। युद्ध रोक्ने दाबी र युद्धको मैदानमा बढ्दो आक्रमणबीच मध्यपूर्वको संकट अझ जटिल बन्दै गएको देखिन्छ।































