सुदूरपश्चिममा ४०० केभी प्रसारण लाइन निर्माणको तयारी, २,५०० मेगावाट विद्युत् प्रवाहको मार्ग खुल्ने

Image
Nisarga Hospital

सुदूरपश्चिममा विद्युत् पूर्वाधार विस्तार गर्ने लक्ष्यसहित २ हजार ५०० मेगावाट क्षमताको विद्युत् प्रवाह गर्न सक्ने ४०० केभी बझाङ–बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आयोजना निर्माणका लागि आवश्यक अनुमति प्राप्त गर्न विद्युत् विकास विभागमा आवेदन दिएको छ।

CP Hospital Dhangadhi

प्रस्तावित प्रसारण लाइन बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका–१० स्थित बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म करिब ६० किलोमिटर लामो हुनेछ। आयोजनाअन्तर्गत ४००/१३२ केभी क्षमताको चैनपुर (१६० एमभिए) र बनलेक (३१५ एमभिए) सबस्टेसन निर्माण गरिनेछ।

Attariya Hospital

प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछन्। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ भने प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर कायम गरिनेछ। आयोजना कार्यान्वयनका लागि २९५.४२ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमा टावर, विद्युत् मार्ग र सबस्टेसन निर्माणका लागि छुट्टाछुट्टै जग्गा प्रयोग गरिनेछ।

nawajiwan

आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माणका क्रममा भूक्षय, बाढी तथा वातावरणीय प्रदूषणजस्ता सम्भावित असरलाई न्यूनतम बनाउने गरी काम गरिने जनाइएको छ। साथै, विद्युत् विकास विभागले आयोजनासम्बन्धी सुझाव तथा राय उपलब्ध गराउन सरोकारवाला र सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ। यो आयोजना सम्पन्न भएपछि पश्चिम सेतीलगायत सुदूरपश्चिमका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ।