
धनगढीस्थित केजी हस्पिटलमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि आफन्तले अस्पताल र चिकित्सकमाथि लापरवाहीको आरोप लगाउँदै छानबिन र क्षतिपूर्तिको माग गरेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निवासी ५० वर्षीया समानी चौधरी मृगौला र मुटुसम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान उपचारका लागि केजी हस्पिटलमा भर्ना भएकी थिइन्। अस्पतालमा उपचाररत उनको सोही दिन राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको राति करिब पौने १० बजेतिर मृत्यु भएको हो। उपचारका क्रममा चिकित्सकीय लापरवाही भएको भन्दै मृतकका आफन्तले अस्पताल प्रशासनसँग जवाफदेहिता र उचित क्षतिपूर्तिको माग गरेका छन्।

घटनापछि आफन्तहरू अस्पताल परिसर बाहिर भेला भएका थिए। अवस्था तनावपूर्ण हुन सक्ने भन्दै वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक बलराम पाण्डेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
आफन्तहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन् भने अस्पताल पक्षबाट भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।































